भारतले इङ्ग्ल्याण्डविरुद्धको टि-२० आई सिरिज एक खेल अगावै जितेको छ ।

शुक्रबार चौथो खेलमा इङ्ग्ल्याण्डलाई १५ रनले हराउँदै भारतले ५ खेलको सिरिज एक खेल अगावै ३-१ ले जितेको हो। 

जितका लागि १ सय ८२ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । इङ्ग्ल्याण्डका ह्यारी ब्रुकले सर्वाधिक ५१ रन जोडे । उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

ओपनर बेन डकेट १९ बलमा ३९ तथा फिल साल्ट २१ बलमा २३ रन बनाए । जेमी ओभरटर्न १९ रनमा आउट हुँदा आदिल राशिदले नट आउट १० रन जोडे ।

भारतका लागि दोस्रो इनिङको १०औं ओभरमा शिभम दुवेको स्थानमा टिममा आएका हर्षित रानाले ३ विकेट लिए। रवि बिश्नोइले ३, वरुण चक्रवर्तीले २, अक्षर पटेल र अर्शदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको बलियो योगफल तयार गरेको थियो ।

भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक रुपमा समान ५३ रन जोडेका थिए । दुवेले ३४ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । पाण्ड्याले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

छैठौं विकेटका लागि दुवे र पाण्ड्याले ८७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए ।

दोस्रो ओभरमा १२ रनमा ३ विकेट गुमाएको भारतका लागि रिंकु सिंह र अभिषेक शर्माले ४५ रनको साझेदारी गरेका थिए । सिंह ३० र शर्मा २९ रनमा आउट भएका थिए ।

भारतका कप्तान सुर्यकुमार यादव र तिलक बर्मा रनको खाता नखोल्दै आउट भएका थिए । ओपनर सञ्जु स्यामसन १ र अक्षर पटेल ५ रनमा आउट भएका थिए ।

इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ३, जेमी ओभरटर्नले २ तथा आदिल राशिद र बायडेन कार्सले समान १ विकेट लिए । पाँचौ टि-२० आई आइतवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *