बुधबारदेखि पाकिस्तानमा सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उद्घाटन खेलमा न्युजिल्याण्डले आयोजक तथा साविक विजेता पाकिस्तानलाई ६० रनले पराजित गरेको छ ।

न्युजिल्याण्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुँदै २ सय ६० रनमा समेटियो । पाकिस्तानका खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान आघाले ४२ रन जोडे ।

न्युजिल्याण्डका विलियम ओ’ रोर्केले र कप्तान मिचेल सान्टनर समान ३ विकेट, म्याट हेनरीले २ र नेथन स्मिथले १ विकेट लिए ।

त्यसअघि कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको न्युजिल्याण्डले टम लेथम र विल योङको शतकमा ५ विकेट गुमाएर ३२० रनको योगफल तयार पारेको थियो ।

न्युजिल्याण्डका लागि लाथमले नट आउट रहँदै सर्वाधिक ११८ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै १० चौका र ३ छक्का प्रहार गरे । ओडिआई करियरको आठौं शतक लाथमले ९५ बलमा पूरा गरे ।

योङले ११३ बलमा १२ चौका र १ छक्काको सहयोगमा १०७ रन जोडे । ओडिआई करियरको चौथो शतक योङले १०७ बलमा पूरा गरे । पाँचौ विकेटका लागि लाथम र ग्लेन फिलिप्सले १२५ रनको शतकीय साझेदारी गरे ।

यस्तै, फिलिप्सले ३९ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय इनिङ खेले । डेभेन कन्वे र ड्यारिल मिचेलले समान १० रन जोड्दा केन विलियम्स १ रनमा आउट भए ।

पाकिस्तानका लागि नशिम साहले २, अबरार अहमद र हरिस रउफले समान १ विकेट लिए ।

योसँगै समूह ‘ए’ मा न्युजिल्याण्डले २ अंक जोडेको छ । बिहीबार यसै समूहका भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *