आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध ओमान ६५ रनमै अलआउट भएको छ ।
मंगलबार भएको खेलमा अमेरिकाले दिएको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टिम ओमान २५.३ ओभरमा ६५ रनमै अलआउट भएको हो । योसँगै ओमानले ५७ रनको पराजय बेहोर्यो ।
ओमानका लागि हम्मद मिर्जाले ४३ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
अमेरिकाका लागि नोस्थुश केन्जिगेले ७.३ ओभरमा एक मेडनसहित ११ रन दिएर सर्वाधिक ५ विकेट लिए ।
त्यसअघि अल अमरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको अमेरिका ३५.३ ओभरमा १ सय २२ रनमै अलआउट भयो । अमेरिकाका लागि मिलान्द कुमारले ८३ बलमा ६ चौकासहित अविजित ४७ रन बनाए ।
बाँकी ब्याटरले भने सम्झनालयक प्रदर्शन गर्न सकेनन् । ओमानका लागि शाकील अहमदले ८.३ ओभरमा तीन मेडनसहित २० रन दिएर सर्वाधिक तीन विकेट हात पारे
यो जितपछि अमेरिकाको १६ खेलबाट २२ अंक भएको छ । उसले अहिलेसम्म ११ मा जित र पाँच खेलमा मात्र हारको सामना गरेको छ । पराजित ओमान दोस्रो स्थानमा छ । उसले १६ म्याच खेल्दासम्म आठमा जित, ६ मा हार तथा दुई खेलमा अंक बाँडेको छ ।
यस्तै, जारी लिग-२ मा नेपालले अहिलेसम्म १२ म्याच खेलेको छ, जसमा नेपालले आठमा हार, दुईमा जित र दुई खेलमा अंक बाँडेको छ । नेपाल अहिले ६ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
नेपालले लिग-२ को चौथो श्रृंखलाअन्तर्गत जुन महिनामा स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्नेछ ।
