प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले जितेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै सिइसी च्याम्पियन बनेको हो । 

सिइसीले दिएको २६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालय २६.५ ओभरमा १५४ रनमै समेटियो । ग्रेट हिमलायका लागि इशान पण्डले ८६ बलमा अविजित १०७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । यसैगरी रितेश आग्रीले २६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सिइसीका पृथु बाँस्कोटा, विवेकानन्द सहनी र दयानन्द मन्डलले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्रिकेट एक्सिलेन्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६१ रनको योगफल तयार पारेको थियो । सिइसीका लागि रितले १२९ बलमा ११३ रनको योगदान गरे । यसैगरी विरेन्द्र धनादीले ७९ बलमा ६७ र पृथु बाँस्कोटाले ४१ रन जोडे ।

ग्रेट हिमालयनका इशान पाण्डेले ४ र किरण बुढा मगरले ३ रदर्शिल विष्टले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ दि म्याच सिइसीका रित गौतम भए । महावीर क्लबका सोनु देवकोटा प्रतियोगिताको उत्कृष्ट ब्याटर र न्यु भिजन क्लबका मनसुन सिंह उत्कृष्ट बलर घोषित भए । दुवैले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी ग्रेट हिमालयनका इशान पाण्डे भए । उनले १० हजार रूपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ खेलाडी सिइसीका युगान्त कार्की भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *