गिलको शतकमा भारतको विजयी सुरुवात

२०८१, ८ फाल्गुन बिहीबार २३:०३

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको समूह ए को खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

बंगलादेशले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

१ सय ४४ रन जोड्दा चौथो विकेट गुमाउँदै दबाबमा परेको भारतलाई ओपनर गिल र केएल राहुलले सम्हालेका थिए । राहुल ४१ रनमा नटआउट रहे ।

१ सय २९ बल खेलेका गिलले ९ चौथो र २ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३६ बलमा ७ चौकासहित ४१ रन, विराट कोहलीले २२, श्रेया ऐयरले १५, अक्षर पटेलले ८ रन बनाए ।

बंगालादेशका रोसिद होसेनले २, तस्किन अहमद, मुस्ताफिजुरले समान १ विकेट लिए ।

त्यसअघि युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बंगालादेश ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय २८ रनको योगफल तयार पारेको थियो ।

बंगालादेशका तोहिद रिदोएले शतक बनाउँदा जाकेर अलीले अर्धशतक बनाए । बंगलादेश ३५-५ को स्थितिमा संकटमा हुँदा यी दुई मिलेर १५४ रनको साझेदारी गरेका थिए । रिदोएले १०० रन बनाउँदा जाकेरले ६८ रन बनाए । ओपनर तान्जित हसनले २५ रन बनाए ।

भारतका मोहम्मद सामीले ५, हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।

योसँगै समूह ए मा भारतले २ अंक जोडेको छ । यसै समूहमा रहेको न्युजिल्याण्डको पनि समान अंक हुँदा नेट रनरेटका आधारमा शीर्षस्थानमा छ ।

न्युजिल्याण्डले बुधबार पाकिस्तानलाई हराएको थियो । अब शुक्रबार समूह बी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *