सिवाइसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेटकाे फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा डीसीए धनगढीलाई ६ विकेटले पराजित गर्दै अत्तरिया फाइनलमा प्रवेश गरेको हो । योसँगै अत्तरियाले उपाधिका लागि फ्रेन्ड्स क्लब डडेलधुरासँग प्रतिस्पर्धा गर्नेछ । 

धनगढीले दिएको १०९ रनको लक्ष्य पछ्याएको अत्तरियाले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । अत्तरियाका लागि शंकर रानाले ५५ बलमा चार छक्का र तीन चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरे । राना खेलको प्लेयर अफ द म्याच पनि चुनिए । यसैगरी दिपेश कंडेलले २४ र भीम सार्कीले १६ रन बनाए ।

धनगढीका लागि हिक्मत महराले दुई तथा ललित नारायण राजवंशी, भोजराज भट्टले समान एक विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा सबै विकेट गुमाएर १०८ रनको योगफल तयार पारेको थियो । धनगढीका लागि मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३ र लोकेश बमले ११ रन बनाए ।

अत्तरियाका लागि विवेक यादव र कमल गुप्ताले समान दुई तथा राशिद खान, दिपेश कंडेल र शाहब आलमले समान एक विकेट लिए । फाइनल खेल सोमबार हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *