विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् ।
हिसान मोरङ स्पोर्ट्स मिटको १३औं संस्करणको बिहिबार औपचारिक उद्घाटन हुने भए पनि खेलहरु धेरै भएकाले मंगलबार पुरुष फुटबलका खेलहरु सुरु भएको हो । विराटनगरस्थित सहिद रंगशालामा जारी पुरुष फुटबलमा १८ वटा बिधालय सहभागि छन् ।
बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । मोडर्न एराका लागि म्यान अफ दि म्याच समेत घोषित अविशेक मगरले एक मात्र निर्णायक गोल गरे ।
दोस्रो खेलमा सगरमाथा कलेजले नेशनल एकाडेमीलाई ४–० गोल अन्तरले पराजित गरेको छ । सगरमाथाका म्यान अफ दि म्याच सोसेहाङ लिम्बु, प्रशान्त राई, साइमन बस्नेत र महमद स्यामुलले समान १-१ गोल गरे ।
त्यसैगरी तस्रो खेलमा होलीचाइल्ड कलेज उर्लाबारीले विराटनगरको भानु कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ । उर्लाबारीको जितमा अविशेक मगरले २ गोल तथा उदय भुजेलले १ गोल गरे । भुजेल खेलको म्यान अफ द म्याच घोषित भए ।
विहिबारदेखि बैजानाथपुरस्थित प्रस्तावित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेटका खेलहरु हुने आयोजकले जनाएको छ । एक साता सम्म चल्ने स्पोर्ट्स मिटअन्तर्गत फुटबल, भलिबल, टेबल टेनिस (सिङ्गल र डबल), लामो तथा छोटो दुरीको दौड, पुरुष क्रिकेट, बास्केटबल एवं कबड्डीका खेलहरु हुने छन् ।
