सुनसरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा केराबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनलमा आयोजक द योङ ब्रदर्श क्लब इटहरीलाई ४-३ गोल अन्तरले पराजित गर्दै केराबारी अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको तेस्रो मिनेटमै आयोजकका लागि फासाले १ गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । लगत्तै खेलको सातौं मिनेटमा केराबारीका भुवन बस्नेतले जवाफी गोल फर्काए ।

खेलको १०औं मिनेटमै पुनः आयोजकका तर्फबाट फासाले नै गोल थपे । पहिलो हाफको इञ्जुरी समयमा केराबारीका लागि नितेश लिम्बूले थप १ गोल गरे । पहिलो हाफमा २-२ बराबरीमा टुंगिएपनि हाफपछि भने केराबारीले २ गोल थप्यो ।

खेलको ५०औं मिनेटमा केराबारीका लागि नितेश लिम्बूले पुनः १ गोल गर्दै टोलीलाई अग्रता दिलाए । यसैगरी खेलको ५५औं मिनेटमा केराबारीकै लागि विशाल तामाङले थप १ गोल गरे ।

यसैगरी आयोजकका लागि खेलको ५७औं मिनेटमा उमेश राईले १ गोल फर्काए पनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच केराबारीका नितेश लिम्बू घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत शनिबार हुन तेस्रो क्वाटरफाइनल खेल लोहोरुङ फुटबल क्लब संखुवासभा र चारतारे युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ५० हजार तथा उपविजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *