फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । आईतवार राति भएको खेलमा पिएसजीले सेन्ट एटियनलाई २–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन ओसमान डेम्बेलेले दुबै गोल गरे । सेन्ट एटियनका लागि जुरब डाभिटासभिलीले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । डेम्बेलेले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यद्यपि डाभिटासभिलीले ६४औं मिनेटमा सेन्ट एटियनका लागि गोल फर्काए पनि टिमको हार टार्न भने पर्याप्त रहेन ।
जितसँगै शीर्ष स्थानको पिएसजीले लिग वानको उपाधि दौडमा रहेको मार्सेइसँग ७ अंकको अग्रता बनाएको छ । पिएसजीले १७ खेलबाट ४३ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेइको समान खेलबाट ३६ अंंक छ । सेन्ट एटियनको भने १७ खेलबाट १६ अंकसहित तालिकाको १६ औं स्थानमा झरेको छ ।
आइतबार राती भएका अन्य खेलमा लेन्सले ले हाभ्रेलाई २-१, एन्जर्सले मोन्टपिलरलाई ३-१ तथा स्ट्राबर्गले टुलुजलाई २-१ ले पराजित गरेको छ ।
