बेलबारी । मोरङको बेलबारीमा आजदेखि शुरु भएको पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगितामा सतिसाले स्पोर्टिङ क्लब मोरङले विजयी सुरुवात गरेको छ ।
बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा भएको उद्घाटन खेलमा लेटाङ्ग फुटबल क्लब मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै सतिसालेले सेमिफाइनलमा प्रवेश गरेको हो ।

सतिसालेलाई जित दिलाउन सुजन मगरले निर्णायक गोल गरे । उनले खेलको २२औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच सतिसालेका पदम भट्टराई घोषित भए । उनले नगद २,५०० पुरस्कार पाए ।

भोलि बुधबारको दोस्रो क्वाटर फाइनल खेल रोयल स्पोर्टिङ क्लब झापा र डाँगिहाट फुटबल क्लब बेलबारीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी कुल आठ क्लबको सहभागिता रहेको छ ।
नक्सलबारी फुटबल क्लब बेलबारीको आयोजना तथा नेपाल मगर संघ बेलबारी र जनज्योति क्लबको संयोजनमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख १ हजार तथा उपविजेताले नगद ५१ हजार पुरस्कार पाउने छन् ।
