बेलबारी । आयोजक नक्सलबारी फुटबल क्लब मोरङको बेलबारीमा जारी पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा बिहिबार भएको चौथो तथा अन्तिम क्वाटर फाइनल खेलमा तालतलैया बोइज सुनसरीलाई ३-१ गोल अन्तरले हराउँदै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

नक्सलबारीको जितमा रोहन गुरूङले दुई र आनन्द राईले एक गोल गरे । तालतलैयाका लागि रोमन तामाङले एक गोल फर्काए ।
रोहनले ११औं मिनेटमा गोल गर्दै नक्सलबारीलाई अग्रता दिलाएका थिए । आनन्द राईले १९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी ३८औं मिनेटमा रोहनले ब्यक्तिगत दोस्रो तथा नक्सलबारीका लागि तेस्रो गोल गरे ।
पहिलो हाफसम्म ३–० गोलले पछि रहेको तालतलैयाले दोस्रो हाफमा एक गोल फर्काए पनि हार टार्न सकेन । दोस्रो हाफको २३औं मिनेटमा तालतलैयाका लागि रोमन तामङले सान्त्वना गोल फर्काए ।

खेलको म्यान अफ द म्याच नक्सलबारीका दुई गोलकर्ता रोहन गुरुङ घोषित भए । उनले नगद २,०८१ पुरस्कार पाए ।
भोलि शनिबार पहिलो सेमिफाइनल खेल सतिसाले स्पोर्टिङ क्लब मोरङ र पानवारी फुटबल क्लब धरानबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी कुल आठ क्लबको सहभागिता रहेको छ ।
नक्सलबारी फुटबल क्लब बेलबारीको आयोजना तथा नेपाल मगर संघ बेलबारी र जनज्योति क्लबको संयोजनमा जारी प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख १ हजार तथा उपविजेताले नगद ५१ हजार पुरस्कार पाउने छन् ।
