बुटवल । मदन भण्डारी इन्डो-नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

बुटवलको रामनगर खेलमैदानमा बिहिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।

पहिलो सेटमा पुलिसले २५-१८ को सहज जित निकालेसँगै केही दबाबमा परेको आर्मीले दोश्रो सेटमा समान २५-१८ को जित निकाल्दै खेललाई १-१ को बराबरी अवस्थामा पुर्याएको थियो ।

खेलको तेश्रो सेट २५-२० ले जित्दै पुलिसले खेलमा २-१ को अग्रता लिएको थियो । तर, चौथो सेटमा २५-२२ जित निकाल्दै आर्मी पुन: खेललाई २-२ को बराबरीमा पुर्याउन सफल भयो ।

त्यसपछि खेलको पाँचौं तथा निर्णायक सेटको शुरुवाती समयदेखि पुलिसलाई दबाबमा राखेको आर्मी अन्तत: १५-७ को सहज जित निकाल्दै खेलको नजिता आफ्नो पक्षमा पार्न सफल भयो ।

उपाधिसँगै आर्मीले ७ लाख र उपविजेता बनेको पुलिसले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले १ लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

बिहिबार नै भएको खेलमा भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई हराउँदै मणिमुकुन्द भलिबल क्लबले तेस्रो स्थान हासिल गरेको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियन आयोजना गरेको हो ।

प्रतियोगितामा आर्मी, पुलिस, मणिमुकुन्द र गुजरातसहित, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, बाग्लुङको गलकोट भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी गरी आठ वटा टोली सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *