बुटवल । बुटवलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।
भारतीय क्लब गुजरात भलिबल एसोसियसनले आइतबार भएको दोश्रो खेलमा गल्कोट भलिबल क्लबलाई क्रमशः २५-१८, २५-१९ र २५-१६ गरि ३-० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । लगातार तेश्रो हारसँगै गल्कोट भने प्रतियोगिताबाट बाहिरीएको छ ।
यससँगै बुटवलको रामनगर खेल मैदानमा जारी प्रतियोगितामा समूह चरणका दुई खेल बाँकी रहँदै सेमिफाइनल समीकरण पूरा भएको हो। समूह ए बाट विभागीय टोली नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब तथा समूह बी बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब र गुजरात भलिबल एसोसियसन सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
यसअघि आइतबारको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी मणिमुकुन्द भलिबल क्लबसँग क्रमशः २०-२५, २५-१८, १२-२५,२५-२१, र १२-१५ गरि ३-२ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको थियो ।
अब प्रतियोगितामा सोमबार समूह चरणका बाँकी दुई खेल हुनेछन् । सोमबार हुने समूह चरणको अन्तिम दुई खेलमा पुलिसले प्रतियोगिताबाट बाहिरीसकेको रुकुम पश्चिम तथा आर्मीले अर्का विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुलिस र आर्मीले यसअघिका दुवै खेल जितिसकेका छन् भने लगातार दुई खेलमा पराजित एपीएफ पनि प्रतियोगिताबाट बाहिरीसकेको छ ।
प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
