काठमाडौं । नेपाल एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ को च्याम्पियन बनेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलको विभागी डर्बीमा नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
यससँगै एपीएफ लगातार दोश्रो संस्करण महिला लिगको च्याम्पियन बन्न सफल भएको छ । एन्फा महिला लिगको गत संस्करणको उपाधि पनि एपीएफले नै जितेको थियो ।
एपीएफलाई महिला लिगमा लगातार च्याम्पियन बनाउन पुलिसविरुद्धको फाइनलमा सविता रान मगरले उत्कृष्ट प्रदर्शन गर्दै दुई तथा सरु लिम्बु र अनु लामाले एक-एक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा सविताले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ६८ औं मिनेटमा सरुको गोलबाट एपीएफले २-० को अग्रता लिएको थियो ।
खेलको ८३ औं मिनेटमा सविताले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई ३-० गोलको अग्रता दिलाएकि थिइन् । त्यसपछि खेलको इन्जुरी समयको अन्त्यमा दोश्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेकी अनुले गोल गर्दै एपीएलाई ४-० को जित दिलाइन् ।
एपीएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै पुलिसले दोश्रो क्वालिफायरको पेनाल्टी सुटआउटमा आर्मीलाई २-१ गोलले पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको थियो ।
च्याम्पियन एपीएफले ट्रफीसहित १० लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता पुलिसले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
