श्रेयस अय्यर पञ्जाब किंग्सको नयाँ कप्तान नियुक्त भएका छन् । आइपिएलको आगामी सिजनका लागि पञ्जाब किंग्सले श्रेयसलाई नयाँ कप्तानमा नियुक्त गरेको हो ।
गत नोभेम्बरमा साउदी अरेबिया (जेद्दा) मा भएको मेगा लिलामीमा पञ्जाब फ्रेन्चाइजीले श्रेयसलाई २६.७५ करोड भारुमा किनेको थियो । ३० वर्षीय अय्यरले गत सिजन आफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्सलाई उपाधि दिलाएका थिए ।
उनले दिल्ली क्यापिटल्सको कप्तानी समेत गरेका छन् । श्रेयस चाँडै नै मुख्य प्रशिक्षक रिकी पोन्टिङसँग भेटेर टोलीको जिम्मेवारी सम्हाल्नेछन् । आईपीएलको नयाँ सिजन मार्च २१ बाट सुरु हुँदैछ । यस सिजनको उद्घाटन खेल कोलकातामा हुनेछ । यससँगै प्रतियोगिताको फाइनल पनि २५ मेमा हुनेछ ।
श्रेयसले आफ्नो कप्तानीमा ७० आईपीएल खेलमा आधाभन्दा बढी खेल जितेका छन् । उनले ३८ खेल जितेका छन् भने २९ खेलमा हार बेहोरेको छ । साथै २ खेल बराबरी भएको छ भने एक खेल नतिजाविहीन छ । श्रेयसको विजयी प्रतिशत ५४.२८ रहेको छ ।
श्रेयस अय्यर आईपीएलको दोस्रो महँगो खेलाडी हुन् । उनलाई पञ्जाब किंग्सले मेगा अक्सनमा २६.७५ करोडमा किनेको थियो । त्योभन्दा बढी, ऋषभ पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोडमा किनेको छ । कोलकाताले वेंकटेश अय्यरलाई २३.७५ करोडमा राखेको छ ।
श्रेयसको कप्तानीमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएर २०२४ को उपाधि जितेको थियो । योसँगै टोली तेस्रो पटक च्याम्पियन बनेको थियो । गौतम गम्भीरको कप्तानीमा टोलीले २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो ।
