नेपाली पुरुष टोली पनि भारतमा जारी प्रथम खो-खो विश्वकपको फाइनलमा पुगेको छ ।
भारतको नयाँ दिल्लीमास्थित इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
अब नेपालले आजै हुने भारत र दक्षिण अफिकाबीचको विजेतासँग फाइनल खेल्नेछ । यसअघि नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै खो–खो विश्वकपको फाइनलमा पुगिसकेको छ ।
नेपाली पुरुष टोलीले शुक्रबार भएको क्वाटरफाइनल खेलमा बङ्गलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । नेपाली पुरुष टोलीले समूह चरणकाे पहिलाे खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।
