आईसीसी यु-१९ महिला टी-२० विश्वकप अघिको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ ।

मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा नेपालले दिएको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अमेरिकाका लागि इसानी भागेलाले सार्वधिक २४ रन बनाइन् । त्यस्तै पूजा साहले १० रन बनाइन् । नेपालकी रिया शर्माले ३ तथा पुजा महतोले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ५८ रनको योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १२ रन बनाउँदा कप्तान पुजा महतोले १० रन बनाइन् । नेपालले कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेको थिएन ।

अमेरिकाका लागि सुहाना थाडानी, रितु सिंह, इसानी भागेला, सानभी इमादी, माही माधवन र पूजा साहले १-१ विकेट लिए ।

नेपाल पहिलो अभ्यास खेलमा सोमबार वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो । अब नेपालले विश्‍वकपका खेलहरू खेल्ने छ ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यु-१९ महिला टी-२० विश्वकपमा १६ टिमको सहभागिता छ जहाँ चार समूहमा १६ टिमको विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्ड छन् ।

नेपालले १८ जनवरीमा बंगलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले २० जनवरीमा स्कटल्याण्ड र २३ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ । यु१९ महिला विश्वकपमा नेपाल पहिलो पटक सहभागी हुँदैछ ।

नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *