आगामी बिहिबारदेखि राजधानीमा हुने त्रिकोणात्मक टि-२० आई सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दु बर्माकाे कप्तानीमा १५ सदस्यीय टाेलीको घाेषणा गरेको हो ।

टाेलीमा यु-१९ टाेलीकी कप्तान पूजा महताेले पुनरागमन गरेकी छन् । यसैगरी एलिशाकुमारी यादवलाई पनि समावेश गरिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ ।

नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता आगामी माघ २५ गतेसम्म चल्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि-२० आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि-२० आई सिरिज खेलेको थियो ।

सिरिजमा नेपाली टोलीको खेलतालिका
३० जनवरी (माघ १७ गते) – नेदरल्याण्ड्ससँग
१ जनवरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग

नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *