पोखरा । विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको पहिलो खेलमा जित्ने समूह अन्तर्गत एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

एपिएफले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२१ को जित निकाल्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर बनिन् । जित्ने समूहमा एपिएफ, न्यू डायमण्डसहित आयोजक टोली छन् ।

आजै दोस्रो खेल महिलातर्फ हार्ने समूहका ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् । 

दिनको तेस्रो खेल पुरुषतर्फ जित्ने समूहका भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । आइतवारको अन्तिम तथा चौथो खेल पुरुषतर्फ हार्ने समूहका गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर्स क्लबबीच हुनेछ ।

सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।

लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *