विभागीय टोली नेपाल पुलिस क्बलले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ पुनरागमन जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको दोस्रो खेलमा हार्ने समूह अन्तर्गत पुलिस क्लबले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्याण्डमाथि ३-१ को पुनरागमन जित निकालेको हो ।

पहिलो सेट २३-२५ ले ट्राभल इन्क्वारीलाई सुम्पिएको पुलिस क्लबले त्यसपछिका तीन सेटमा लगातार जित हात पार्यो । दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेर खेलमा फर्किएको पुलिस क्लबले तेस्रो सेट २५-१८ र चौथो सेट २५-१७ ले जितेको हो ।

हार्ने समूहमा पुलिस क्लब, ट्राभल इन्क्वारी र त्रिभुवन आर्मी क्लब छन् ।

टाइगर कपमा पुलिस क्लबको यो पहिलो जित हो भने थाइल्याण्डको क्लबको लगातार दोस्रो हार हो । पहिलो खेलमा पुलिस टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । थाइल्याण्डको क्लब पहिलो खेलमा एपिएफसँग पराजित भएको थियो ।

आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

अब दिनको तेस्रो खेल पुरुषतर्फ जित्ने समूहका भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । आइतवारको अन्तिम तथा चौथो खेल पुरुषतर्फ हार्ने समूहका गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर्स क्लबबीच हुनेछ ।

सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।

लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *