विभूषण कोइराला, भक्तपुर
प्रधानमन्त्री कपको उपविजेता त्रिभुवन आर्मी क्लब, पहिलो संस्करणको जय ट्रफी उचाल्न चाहन्छ । जय ट्रफी जित्ने उदेश्यले बिरगंज गएको आर्मी टिमको आज हामी पूर्वावलोकन गर्दैछौँ ।
अनुभवी ब्याटर तथा विकेट किपर बिनोद भण्डारीको कप्तानी रहेको आर्मीमा नेपाल राष्ट्रिय टिमका तिब्र गतिका बलर सोमपाल कामीले बलिङ समाल्ने छन् । दुई दिवसीय क्रिकेटको स्वाद पाइसकेका, बिनोद र सोमपाल विपक्षकोलागि टाउको दुखाइ बन्न सक्छन् ।
बिनोदले एमसीसीविरुद्ध ३६ रन हानेका थिए भने सोमपालले एक अर्धशतक सहित २ विकेट लिएका थिए । नेपाल राष्ट्रिय टिमको खम्बा भनिने भिम सार्कीले आर्मीको मिडल अर्डर समाल्ने छन भने कुशल मल्ल, वशिर अहमद र नरेन साउदको अलराउन्डले आर्मीलाई जितको लागि सहज बनाउन सक्छ ।
टि-२० ब्याटरको रुपमा हेरीएको बिबेक यादव र सन्तोष कार्कीले भने टिमलाई पावर हिटिङबाट साथ दिने छन । यो फर्म्याट धैर्यता गरेर खेल्न सक्नु पर्ने भएकाले पावर भने खासै काम नलाग्न सक्छ । तर बिबेक र सन्तोषको आगमनले आक्रमक ब्याटिङ चाहिएको खण्डमा रन बनाउन सक्ने छन् । बिवेक यादव पेस बल समेत गर्न सक्ने भएकाले उनले टिमलाइ साथ बलिङमा पनि साथ दिन सक्ने छन् भने सन्तोष आर्मिका लागि ओपन गर्न आउने छन् ।
अनुभव र युवाको कम्बिनेशन रहेको आर्मी पेपरमा निकै ब्यालेन्स देखिएको छ । अब प्रतियोगिता आर्मीका लागि कस्तो रहन्छ भन्ने चाहिँ मैदानमा नै थाहा हुन्छ ।
जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगिता भोलिदेखि जनकपुर र पर्सामा शुरु हुँदैछ ।
