विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी जय ट्रफी मेन्स एलिट कपमा मधेश प्रदेशलाई हराउँदै फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

मधेशले दिएको २८ रनको सामान्य लक्ष्य आर्मीले ६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि इमरान शेखले ८ तथा तृतराज दासले १३ रन जोडे । पवन कार्कीले ४ रन जोडेको खेलमा बसिर अहमदले ४ रन थपे । मधेशका लागि दुवै विकेट प्रदीप पासवानले लिए ।

मधेशले दोस्रो इनिङग्समा १५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो । दोस्रो इनिङग्समा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाए । बलिङमा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने शाहब अलामले ३ विकेट र आकाश चन्दले २ विकेट हात पार्न सफल भए । 

पहिलो इनिङग्समा मधेश १०२ रनमै अलआउट भएपछि फलोअनमा परेको थियो । मधेशका लागि कप्तान हरिशंकर शाह ३१, अभिषेक तिवारी १३, मयन यादव ११ र प्रदिप पासवान १० रनमा आउट भए ।

आर्मीका लागि साहब आलमले १२ ओभरमा ३७ रन खर्चिएर ६ विकेट लिए । पवन कार्की, बसिर अहमद, आकाश चन्द र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि शनिवार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितीमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

पहिलो इनिङग्समा आर्मीका लागि भीम सार्कीले ५२ रन र बसिर अमहदले ६७ रन बनाए । मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिए ।

जितका साथ आर्मीले फाइनलमा स्थान बनाएकाे छ । आर्मी ५५ अंक सहित तालिकामा शीर्ष स्थानमा छ । आर्मीले तेस्रो खेलबाट मात्र ३५ अंक हासिल गर्यो । पहिलो र दोस्रो खेल बराबरी खेलेको आर्मी तेस्रो जितका साथ शीर्ष २ मा पर्ने पक्का भइसकेको छ । शीर्ष २ टाेलीले फाइनल खेल्ने प्रतियाेगिताकाे नियम रहेकाे छ ।

पराजित मधेशले २ खेलमा हार तथा १ मा बराबरी साथ तालिकाको पुछारमा रहेर प्रतियोगिता सकेको छ । मधेशले तीन खेलबाट ३१ अंक बनायो । उसले अन्तिम खेलबाट १० अंक मात्र बटुल्न सक्यो । 

फाइनलमा स्थान बनाउँने दाेस्राे टोली भने जनकपुरमा जारी पुलिस र बागमतीको खेल पश्चात थाहा हुनेछ । जय ट्रफी एलिट कप क्रिकेटको फाइनल खेल मंगलबार हुनेछ । वीरगञ्जमा हुने फाइनल खेल तीन दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *