जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा २१ रनको लक्ष्य सुदूरपश्चिमले १ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको हो ।

हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण खेललाई ५ ओभरमा झारिएको थियो ।

सुदूरपश्चिमका लागि कविता कुँवर १४ र मनिषा बोहरा ५ रनमा अविजित रहिन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रनको योगफल तयार पारेको थियो ।

टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रुर्ती बुढाले सर्वाधिक ८ र रमा बुढाथोकीले ६ रन जोडिन् । बलिङतर्फ सुदूरपश्चिमका लागि आशिका महराले ३, कविता कुँवरले २ तथा ऋतु कनौजियाले १ विकेट लिइन् ।

जारी प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम ६ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली तीन खेलमा एक अंकका साथ पाँचौ स्थानमा छ ।

आजको दोस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *