लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको ९८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि सरस्वती पुनले अविजित ३१ रन बनाउँदा रञ्जु श्रेष्ठले २० र एन्जी पाठकले १८ रन बनाए ।
बलिङतर्फ गण्डकीका अपेक्षा बुढाथोकीले दुई विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९७ रन बनाएको थियो । गण्डकीका लागि सलिना सेनले अविजित ३३ रन बनाउँदा रेखा तामाङले २५ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका मनिषा रानाले दुई विकेट लिँदा एन्जी पाठक र मधु डिसीले समान एक-एक विकेट लिए ।
जितसँगै लुम्बिनीले तीन खेलमा तीन अंक जोड्दा पराजित गण्डकीको चार खेलबाट एक अंक छ । शुक्रबारै सम्पन्न पहिको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्यो ।
