एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा पुलिसले सातदोबाटो तथा हिमालयन शेर्पाले फ्रेन्ड्सलाई पराजित गरेको छ ।

दिनको पहिलो खेलमा विभागीय टोली पुलिसले सातदोबाटो युथ क्लबलाई ८-० को फराकिलो अन्तरले हरायो । पुलिसको जितमा नवीन गौतमले ह्याट्रिक गरे । यसैगरी समीर कुमारले दुई तथा समीर राई, किरणराज गिरी र रोहन पोख्रेल मगरले समान एक गोल गरे ।

जितसँगै पुलिसले ६ खेलमा १३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान ६ खेलमा ६ अंकका साथ आठौं स्थानमा छ ।

दिनको दोस्रो खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हरायो । जारी लिगमा हिमालयन शेर्पाको यो पहिलो जित हो ।

हिमालयन शेर्पाको जितमा दुवै गोल सुजन स्याङतानले गरे । फ्रेन्ड्सका लागि क्रिस कटुवालले एक गोल फर्काए ।

जितसँगै हिमालयन शेर्पा ७ खेलमा ४ अंंकका साथ नवौं स्थानमा छ । पराजित फ्रेन्ड्स ७ खेलमा १० अंकका साथ छैटौं स्थानमा छ ।

प्रतियोगितामा तीन बिभागीय टोलीसहित कुल ११ टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *