एन्फा यु-१६ युथ लिगमा मंगलबार थ्री स्टार क्लब र विभागीय टोली नेपाल एपिएफ विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले खुमलटार तथा एपिएफले आर्मीलाई पराजित गरेको हो ।
दिनको पहिलो खेलमा थ्री स्टारले एफसी खुमलटारलाई ५-१ गोल अन्तरले हरायो । थ्री स्टारको जितमा राज बम, रोहित दवाडी, रोशन तामाङ, भुपेन्द्रबहादुर रावत र सुमीत बलम्पाकीले समान एक गोल गरे ।
खुमलटारका लागि सुवास मगरले एक गोल फर्काए ।
जितसँगै ६ खेलबाट १६ अंक जोडेको थ्री स्टार दोस्रो स्थानमा छ । अंकविहिन खुमलटार पुछारबाट दोस्रो स्थानमा छ ।

त्यसैगरी दिनको दोस्रो खेलमा विभायीय टोली नेपाल एपीएफ क्लबले अर्को विभायीय टोली त्रिभुवन आर्मी क्लबलाई १३-० को फराकिलो अन्तरले हरायो ।
एपिएफको जितमा सन्दीप पुलामीले एक्लैले पाँच गोल गरे । त्यस्तै अविनाश वाइबाले तीन, प्रमबहादुर घलेले दुई तथा रितेश सुनार, तेन्जिङ शेर्पा र रमेश अधिकारीले समान एक गोल गरे ।
जितसँगै सात खेलबाट १७ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । अंकविहिन आर्मी पुछारमा छ । प्रतियोगितामा तीन बिभागीय टोलीसहित कुल ११ टोली सहभागी छन् ।
