ललितपुर । बागमती युथ क्लबले एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणमा पहिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा बागमतीले वालिङ नगरपालिकालाई २-० ले पराजित गरेको हो ।
बागमतीको जितमा अस्मिता खवास र विष्णुमाया बलले गोल गरिन् । यी दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको सातौं मिनेटमै अस्मिता खवासले बागमतीलाई सुरुआती अग्रता दिलाइन् । ७५औं मिनेटमा विष्णुमाया बलले अर्को गोल थप्दै बागमतीको जित पक्का गरिन् ।
पहिलो जितसँगै बागमतीले चार खेलमा तीन अंक जोडेको छ । चारै खेलमा पराजित वालिङ अंकविहिन छ ।
