काठमाडौं । इ-स्पोर्ट्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ।
संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप आगामी फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो ।
च्याम्पियनसिपमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई- स्पोर्टको ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ।
अन्तिम चरणमा ई फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४-४ खेलाडी अन्तिम चरणमा सहभागि हुनेछन् ।
इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडकासँगै तीन वर्षको सम्झौता गरेको छ 1 सम्झौता अनुसार स्पलाई अनलिमेटेडअन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ । इशानका अध्यक्ष अन्जन धमलाले इ- स्पोर्ट्सका विकासमा नेपाल प्लेजसँगको सहकार्यले फाइदा पुग्ने बताए । धमलाले नेपाल प्लेजसँग लामो समयसम्म सहकार्य गर्दै इ-स्पोर्ट्स विकासमा अघि बढ्ने बताए ।
‘इशानले छोटो समयमै विभिन्न स्थानिय राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ । यो विश्वमै धेरै रिभेन्यु जेनेरेट गर्ने खेल बनिसकेको छ । नेपालमा पनि यसको राम्रो सम्भावना छ,’ इशान अध्यक्ष धमलाले भने । धमलाले इ-स्पोर्ट्स खेल्दा अहिले पनि समाजमा नकरात्मक सोच रहेको भन्दै अब समाजमा फरक किसिमको सोच बनाउनका लागि इ-स्पोर्ट्स च्याम्पियनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले नेपाली ई- स्पोर्ट्स इतिहासमै यो कोशेढुंगा सावित हुने बताए । ‘हामी इ-स्पोर्ट्स समुदायलाई जसरी पनि अगाडि बढाउने भनेर लागि परेका छौं । यो नेपाली ई- स्पोर्ट्समै एउटा माइलस्टोन इभेन्ट बनाउने प्रयासमा छौं,’ श्रेष्ठले भने । श्रेष्ठले नेपालमा गेमिङ संस्कृति विकास गर्ने र भविष्यमा गेमिङ पनि करियरको विकल्पका रूपमा लैजाने योजना रहेको बताए ।
च्याम्पियनसिपमा नेपालको इ-स्पोर्ट्स क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि रहेको इ- स्पोर्ट्स संघले जनाएको छ ।
च्याम्पियनसिपको कूल पुरस्कार राशि २५ लाख रहेको छ । इशानका महासचिव पवन कार्कीले यो नेपाली ई-स्पोर्टकै सर्वाधिक पुरस्कार राशि रहेको बताए । यसबाट ६ विधाका विजेता र उपविजेता खेलाडीलाई पुरस्कृत गरिनेछ । च्याम्पियनसिपमा सहभागी हुन चाहने खेलाडीहरुले २० पुस अर्थात् शनिबारदेखि खल्ती एपबाट नाम दर्ता गराउने सक्नेछन् । नाम दर्ता निःशुल्क रहेको छ ।
च्याम्पियनसिपका लागि कुल बजेट ३ करोड ७० लाख रुपैयाँ रहेको उज्जेनलाल श्रेष्ठले जानकारी दिए । उक्त बजेट विभिन्न प्रायोजकबाट उठाउने उनले बताए । यसैबीच, दोस्रो इ-स्पोर्ट्स च्याम्पियनसिपका लागि इशानले चलचित्रकर्मी तथा ई-गेमिङका प्रवर्द्धकसमेत रहेका निश्चल बस्नेतलाई नियुक्त गरेको छ । इशानले बस्नेतलाई ब्राण्ड एम्बेसेडरका रूपमा सार्वजनिक गरेको थियो ।
इशानले संघ स्थापना भएको तेस्रो महिनमै गत पुसमा सुर्खेतमा इ-स्पोर्ट्सको पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको थियो । नयाँ आर्थिक वर्षमा वार्षिक क्यालेन्डरकै घोषणा गरेर इशानले कार्यक्रमहरु गर्ने जनाएको छ ।
