इंग्लिस प्रिमियर लिगमा लिभरपुल, आर्सनल र म्यान्चेस्टर सिटीले जित हात पार्दा चेल्सी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले इपस्वीच टाउनलाई ४–१ गोलले पराजित गरेको छ ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन कोडी गाक्पोले दुई तथा डोमिनिक सोबोस्लाई र मोहमद सलाहले समान एक-एक गोल गरे । इप्सविचका जाकोब ग्राभेसले सान्त्वना गोल गरे ।
खेलको ११औँ मिनेटमा सोबोस्लाईको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । ३५औँ मिनेटमा सालाहले घरेलु टिमको अग्रता दोब्बर बनाए । यस्तै, ४४औँ मिनेटमा गाक्पोले पहिले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।
खेलको ६६औँ मिनेटमा गाक्पोकै गोलमा लिभरपुलले अग्रतालाई ४–० को स्थितिमा पुर्याएको थियो । खेलको निर्धारित समयको अन्तिम मिनेटमा ग्राभेसले गोल फर्काए पनि इप्सविचको हार टार्न सकेनन् ।
जितसँगै २२ खेलबाट ५३ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । रेलिगेसन क्षेत्रमा रहेको इप्सविचकको भने २३ खेलबाट १६ अंक छ ।

शनिबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानको आर्सनलले उल्भ्समाथि १–० को साँघुरो जित निकालेको छ ।
वुल्भ्सको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन रिकार्डो कालाफिओरीले ७४औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै लिभरपुललाई पछ्याइरहेको आर्सनलले २३ खेलबाट ४७ अंक जोडेको छ । समान खेलबाट १६ अंक जोडेको वुल्भ्स भने तालिकाको १७औँ स्थानमा छ ।

त्यसैगरी, अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि ३-१ को पुनरागमन जित निकालेको छ ।
घरेलु मैदान इतिहाद स्टेडियममा म्यानचेस्टर सिटीलाई जित दिलाउन जोस्को ग्वार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे । चेल्सीका लागि नोनी माडुकेले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । खेलको तेस्रो मिनेटमै नोनी माडुकेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ४२औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि जोस्को ग्वार्डिओलले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने म्यानचेस्टर सिटीले दुई गोल गरेको थियो ।
खेलको ६८औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै म्यानचेस्टर सिटीलाई २-१ गोलअन्तरको अग्रता दिलाए । त्यसपछि खेलको ८७औँ मिनेटमा फिल फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई ३-१ गोलअन्तरको पुनरागमन जित दिलाए ।
जितसँगै म्यानचेस्टर सिटी २३ खेलबाट ४१ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित चेल्सी भने २३ खेलबाट ४० अंकका साथ लिगको छैटौँ स्थानमा झरेको छ ।
शनिवारका अन्य खेलमा न्युक्यासलले साउथह्याम्पटनलाई ३-१ ले, ब्राइटनले इभर्टनलाई १-० ले र बर्नमाउथले नटिङ्घम फोरेस्टलाई ५-० ले पराजित गर्यो ।
