बुटवल । त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप -२०८१ मा विजयी सुरुआत गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १० स्थित रामनगर खेल मैदानमा बिहीबार आर्मीले गुजरात प्रदेश भलिबल एसोसियसनविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।

पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछिका तीन सेट २९-२७, २५-२१, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।

अब आर्मीले शनिबार गल्कोट भलिबल तथा गुजरातले शुक्रबार नेपाल एपिएफ क्लबको सामना गर्नेछन् । प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिवल क्लबकावीच हुने छ भने तेस्रो खेल नेपाल एपिएफ क्लब र गल्कोट भलिवल क्लबबीच हुनेछ ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् । समूह बिमा नेपाल एपिएफ क्लब, आर्मी, गल्कोट भलिबल क्लब र गुजरात प्रदेश भलिवल एसोसियसन, भारत छन् ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा विधाका उत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *