बुटवल । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा बुधबार बुटवलमा शुरु भएको “मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप-२०८१” मा विभागिय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आज भएको उद्घाटन खेलमा पुलिसले आयोजक मदन भण्डारी एकेडेमीलाई ३-१ को सेटमा हराएर सुखद सुरुआत गरेको हो ।

पुलिसले खेल २५-२२, २५–२०, ३२-३४ र २५-१८ ले आफ्नो पक्षमा पार्यो । प्रतियोगितामा भोलि ३ वटा खेलहरु हुनेछन् ।

पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको गुजरात प्रदेश भलिवल एशोसियसनसंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लब तथा तेस्रो खेलमा एपिएफ क्लब र गल्कोट भलिवल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् । समूह बिमा नेपाल एपिएफ क्लब, आर्मी, गल्कोट भलिबल क्लब, र गुजरात प्रदेश भलिवल एसोसियसन, भारत छन् ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा विधाका उत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलक्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने बताए । उनले खेल पूर्वाधारको निर्माण, खेलाडी उत्पादन र नियमित प्रतियोगिता सञ्चालन गरेर खेलक्षेत्रलाई प्रगतिपथमा अघि बढाउन सकिने उल्लेख गर्दै खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *