अफगानिस्तानले पहिलो पटक टेस्ट क्रिकेटको सिरिज जितेको छ ।
सोमबार भएको दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली जिम्बाब्वेलाई ७२ रनले हराउँदै अफगानिस्तानले दुई खेलको सिरिज १–० ले जितेको छ । अफगानिस्तानले टेस्ट सिरिज जितेको यो पहिलो पल्ट हो ।
यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो । २०१७ मा टेस्ट मान्यता प्राप्त गरेपछि अफगानिस्तानले खेलेको ११ खेलहरूमा यो चौथो जित हो ।
अफगानिस्तानले दिएको २७८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको जिम्बाब्वे दोस्रो इनिङ्ग्समा ६८.३ ओभर खेलेर २०५ रनमै अलआउट भयो ।
जिम्बाब्वेको ब्याटिङलाई ध्वस्त पार्न रासिद खानले ७ विकेट लिए । २७.३ ओभर बलिङ गरेका उनले ६६ रन मात्र खर्चिए । त्यस्तै जिया उर रहमानले २ विकेट हात पारे ।
जिम्बाब्वेका लागि कप्तान क्रेग अर्भिनले सर्वाधिक ५३ रन प्रहार गरे। उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, बेन करान र सिकन्दर राजाले ३८-३८ रनको योगदान दिए ।
अफगानिस्तान पहिलो इनिङ्समा १ सय ५७ रनमा सीमित बनेको थियो । जवाफमा जिम्बाब्वेले २ सय ४३ रन बनाउँदै अग्रता लिन सफल भयो ।
तर, दोस्रो इनिङ्समा रहमत शाह र इस्मत आलमको शतकीय इनिङ्सको मद्दतले अफगानिस्तानले ३६३ रन बनाउन सफल भएको थियो । प्लेयर अफ द सिरिज घोषित शाहले १ सय ३९ रन तथा आलमले १ सय १ रन जोडे ।
यसअघि अफगानिस्तानले जिम्बाब्वेविरुद्धको ३ खेलको टी-२० सिरिज २-१ ले जितेको थियो भने ३ खेलको एकदिवसीय सिरिज २-० ले जितेको थियो ।
