उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा हिसान मोरङ स्पोर्ट्स मिट यही माघ १० गतेदेखि हुने भएको छ ।

मंगलबार हिसान मोरङले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी स्पोर्ट्स मिट माघ १० देखि १६ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।

एक साता सम्म चल्ने स्पोर्ट्स मिटअन्तर्गत महिला र पुरुष फुटबल, भलिबल, टेबल टेनिस (सिङ्गल र डबल), लामो तथा छोटो दुरीको दौड, पुरुष क्रिकेट, बास्केटबल एवं कबड्डी प्रतियोगिता हुनेछ ।

मोरङ जिल्लाभरिका संस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ मा अध्ययन गर्ने लगभग ३० हजार विद्यार्थीमध्येबाट खेलाडीको छनोट गरिने जानकारी हिसान मोरङका अध्यक्ष अमित ढकालले दिए । उनले सम्बन्धित विद्यालय र कलेजले आन्तरिक प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर ‘सिङ्गल’ र ‘टिम इभेन्टस’ मा सहभागिताका लागि पठाउने बताए ।

विराटनगरको सहिद रंगशालामा मङ्गलवारबाटै सुरु हुने फुटबलमा २२ वटा टिमको सहभागिता रहने ढकालको भनाइ छ । फुटबलमा प्रत्येक खेलको म्यान अफ दि म्याच तथा सार्वधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडीलाई उचित पुरस्कार प्रदान गरिने ढकालले बताए ।

फुटबल र भलिबलमा प्रथम एवं दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र एवं खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । बास्केटबलमा प्रथम, लामो एवं छोटो दुरीको दौडका साथै टेबल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने महिला तथा पुरुष खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने जानकारी अध्यक्ष ढकालले दिए ।

क्रिकेट खेल विराटनगर महानगरपालिका-१९ स्थित क्रिकेट रङ्गशाला माघ १० गतेबाट सुरु हुने छ । भलिबल, कबड्डी र बास्केटबल माघ १२ गते बिहानबाट डीपीएस स्कुलको मैदानमा हुनेछ । टेबल टेनिस विराटनगरको कवर्ड हलमा हुने छ ।

सबै खेलको फाइनल खेल माघ १६ गते हुने छ । त्यही दिन सहिद रंगशालामा समापन कार्यक्रमको आयोजना गरिने हिसान अध्यक्ष ढकालले बताए । उनका अनुसार हिसान स्पोर्ट्स मिटमा लाग्ने अनुमानित खर्च ३० लाख रुपैयाँ आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिने छ ।

ढकालले स्पोर्ट्स मिटमा गत वर्षबाट महिला फुटबल र कबड्डी प्रतियोगिता थपिएको उल्लेख गरे । महिला फुटबल आयोजनाले हरेक वर्ष एक न एक जना राष्ट्रिय खेलाडी हिसान मोरङले नै उत्पादन गरेको खेलाडीमध्येबाट छनोट हुने अपेक्षा गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *