काठमाडौं । उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड- २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका हुन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यक्रममा विजय र एरिकालाई जनही १ लाख नगदसहित ट्रफी प्रदान गरियो ।
प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमति विष्ट पुरस्कृत भए । दुवैले ट्रफीसहित समान ५०-५० हजार नगद पुरस्कार प्राप्त गरे । तेक्वान्दोकी पलेशा गोबर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित नगद १५ हजार रुपैयाँ प्रदान गरियो ।
गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भए । दुवैले प्रशंसा पत्रसहित समान ३५-३५ हजार नगद पुरस्कार पाए ।
उक्त अवार्ड बाहेक विभिन्न २९ खेलका खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे ।
यस्ता छन् अन्य उत्कृष्ट खेलाडीहरू :
- आर्चरी – योगेन्द्र शेरचन
- एथलेटिक्स – सन्तोषी श्रेष्ठ
- ब्याडमिन्टन – प्रिन्स दाहाल
- बास्केटबल – विजय पुर्जा
- बक्सिङ – चन्द्रबहादुर थापा
- क्यानोइङ- गणेश गुरुङ
- क्रिकेट – कुशल मल्ल
- साइक्लिङ – उषा खनाल
- डान्स स्पोर्ट्स – श्याम महर्जन
- ई-स्पोर्ट्स – साहस भण्डारी
- फेन्सिङ – राजेन्द्र गजुरेल
- फुटबल – प्रीति राई
- गल्फ – सद्भाव आचार्य
- ह्यान्ड बल – संगीता चौधरी
- जुडो – विकास विक
- कबड्डी – मनमती विष्ट
- कराते – एरिका गुरुङ
- रग्बी – पूजन फेवाली
- सुटिङ – विपेश खड्का
- स्क्वास – स्वस्थानी श्रेष्ठ
- पौडी – एलेक्सान्डर जी शाह
- टेबल टेनिस – ईभाना थापा
- तेक्वान्दो – अस्मिन राउत
- टेनिस – निसान श्रेष्ठ
- ट्राइलाथोन – शेर्पी महर्जन
- भलिबल – निरुता ठगुन्ना
- भारोत्तोलन – विद्या राई
- रेस्लिङ – सुरेश चुनारा
- वुसु – विजय सिंजाली
उत्कृष्टले जनही १० रुपैयाँ र ट्रफी प्राप्त गरे । यि खेलाडी मध्येबाटै सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडीको अवार्ड प्रदान गरिएको हो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, स्थानिय आयोजक समेत रहेको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामा, राखेप सदस्य अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । अर्को संस्करणको स्थानिय आयोजक बनेपा नगरपालिका हुने कार्यक्रममा जानकारी दिइयो ।
