हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा आइतबार देखि जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत आठौं चरणको खेल सम्पन्न हुदा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन् ।

२५ औं पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले सिएम नवीन तण्डुकालाई पराजित गर्नु पूर्व युवा पुरुषोत्तम सिलवालसँग बराबरी खेल खेलेका थिए ।

रौतहटका रुपेश जैसवालले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ्ग वृद्धि गर्न सफल भएका छन् । उनले २०९३ रेटिङ्ग‌बाट खेल प्रारम्भगरेका थिए ।

हेटौंडास्थित होटल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे ५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् ।

मकवानपुरका क्षितिजले २०९१ रेटिङ्ग स्तरको खेल खेल्दै आफ्नो ६ दशमलव ५ रेटिङ्ग वृद्धि गरेका छन् । उदीयमान पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ्ग वृद्धि गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ३२ दशमलव ८ रेटिङ्ग बढाउन सफल भएका छन् ।

अन्तिम तिन चरणको खेल बाकी हुदा सिएम शुश्रुत दहाल ५ अंक बनाउदै एकल तेस्रो स्थानमा छन् । झापाका शुश्रुतले २०४२ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ५ रेटिङ्ग वृद्धि गरेका छन् । दोलखाका आशिष् फूँयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलव ५ अंक जोडेर चौथो स्थानमा टिकेका छन् ।

यसैगरी दशौं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरि पुनः उपाधि तर्फ बढेकी छिन् । काठमाडौंकी सिन्दिराले ६ दशमलव ५ अंक जोड्ने क्रममा पाँच जीत र तिन खेल बराबरी खेलेकी छिन् ।

नयाँ उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरि र काठमाडौंकी एञ्जल महर्जन दुवैले समान ६ – ६ अंक जोडेका छन् । संयुक्त दोश्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार, पाँच जीत र दुई खेल बराबर खेलेकी हुन् । यस्तै युवा एञ्जलले दुई खेलमा हार व्यहोरे भने ६ वटा खेलमा जीतको स्वाद चाखेकी छिन् ।

मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जीत गर्ता गर्दै ५ दशमलव ५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएका छन् भने किर्तिपुर काठमाडौंकी बिनिता कपालीले तिन हार र पाँच खेलमा जीत हासिल गर्दै सम्भावना जगाएका छन् ।

महासंघका महासचिव धरम बहादुर लामाका अनुसार राष्ट्रिय प्रतियोगिताको मापदण्ड अनुसार एक खेल मात्र सञ्चालन हुने दिनमा खेलाडीलाई रिफ्रेसमेण्ट दिन हेटौंडा सहिद पार्क र मकवानपुर गढि लगायत अन्य पर्यटकीय स्थलमा भ्रमण गराइएको जानकारी गराएका छन् ।

मकवानपुर जिल्ला बुद्धिचाल संघको स्थानीय रेखदेखमा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल खेलका थप दुई चरणको खेल शुक्रबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *