बिभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सुपर फोरको खेलमा अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
खराब मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा सीमित बन्यो ।
आर्मीका लागि राधिका पुजाराले १७ र कप्तान लक्ष्मी साउदले १० रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफका लागि रेखा रावलले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, सवनम राईले २ र कप्तान इन्दु बर्माले १ विकेट लिइन् ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाएर ११५ रनको योगफल तयार पारेको थियो ।
एपीएफका लागि राजमति ऐरले सर्वाधिक ३५ रन बनाइन् । कविता जोशी ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहँदा ममता चौधरीले ११ र रोमा थापाले ७ रनको योगदान दिए ।
आर्मीका लागि सुस्मिता भुसालले २ र ईश्वरी विष्टले १ विकेट लिए । यसअघि बिहीबार भएको सुपर फोरको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई १० विकेटले हराएको थियो ।
फाइनल प्रवेश गर्ने दोस्रो टोलीको भने तय भएको छैन । फाइनल पुग्ने अर्को टोलीका रुपमा आर्मी, बागमती र सुदूरपश्चिमबिचको प्रतिस्पर्धा रहेको छ ।
आजै हुने सुपर फोरको बागमती र सुदूरपश्चिमबीचको खेलबाट फाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।
