आइसिसी महिला यू-१९ विश्वकप अन्तर्गत प्लेअफमा घरेलु टोली मलेसियाविरुद्ध जितका लागि नेपालले ४६ रनको सामान्य लक्ष्य पाएको छ ।
मलेसियास्थित जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियालाई नेपालले १६.५ ओभरमा ४५ रनमा अल आउट गरेको हो ।
नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक चार विकेट लिइन् । यससँगै उनी सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो ।
यसैगरी रचना चौधरीले तीन तथा रिया शर्मा र सीमान समान एक विकेट लिए ।
यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन् ।
दुवै टोली जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छन् । नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए ।
नेपालले समूह चरणमा स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेन । उता, मलेसिया भने तीनवटा टेस्ट राष्ट्र भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित हुँदै सुपर सिक्समा पुग्न सकेन ।
