बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।
मंगलवार भएको दिनको दोस्रो खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बागमती सुपर फोरमा प्रवेश गरेको हो । बागमती समूह ‘बी’ बाट सुपर फोरमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।
जितसँगै तीन खेलमा ४ अंक जोडेको बागमती समूह ‘बी’ बाट सुपर फोरमा प्रवेश गरेको हो । यससँगै कोशी प्रदेशको सुपर फोरमा पुग्ने सम्भावना समाप्त भएको छ । समान ४ अंक भए पनि बागमतीले कोशी प्रदेशलाई नेट रनरेटको आधारमा पछि पार्यो । मधेशले तीनै खेलमा पराजय बेहोर्यो ।
यसअघि आजको पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सुपर फोरमा प्रवेश गरिसकेको छ ।
समूह चरणको अन्तिम खेलमा जितका लागि मधेशले दिएको ४१ रनको झिनो लक्ष्य बागमातीले ६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि याशु पाण्डेले १९ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ मधेशका लागि रोजी कडारीले २ विकेट लिइन् ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले १५.५ ओभरमा अलआउट हुँदै ४० रनको योगफल तयार पारेको थियो ।
मधेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान सरस्वती कुमारी र साक्षी यादवले सर्वाधिक रुपमा समान ६ रन जोडे । बागमतीका लागि कप्तान कञ्चन श्रेष्ठले ४, विपिशा शाहीले २ तथा सोनु खड्का र मनिषा उपाध्यायले १-१ विकेट लिए ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम थिए । समूह बी मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब थिए ।
दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
