जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगितको दोस्रो दिन नेपालको मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको ढाका विश्वविद्यालय विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको पहिलो खेलमा मध्यपश्चिमले दिल्ली विश्वविद्यालयलाई ६ विकेटले हरायो ।
दिल्लीले दिएको ६० रनको लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । मध्यपश्चिमका लागि दीपक डुम्रेले २१ रन र रवीन्द्रजंग शाहीले १३ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्ली एक बल खेल्न बाँकी छँदा ५९ रनमै अलआउट भयो । दिल्लीका लागि प्रियांस चामोले १८ रन बनाए । बलिङमा मध्यपश्चिमका विपिन खत्रीले ३ विकेट लिँदा दिनेश अधिकारी र सुरज बोहराले समान २-२ विकेट हात पारे ।
दिनको दोस्रो खेलमा बंगलादेशको ढाका विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयलाई ८ विकेटले पराजित गर्यो ।
त्रिभुवन विश्वविद्यालयले दिएको १ सय ४ रनको लक्ष्य ढाकाले १२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ढाकाको जितमा इफ्तिकार होसाइले २९ बलमा ४५ र शरिफर सकिबले २७ बलमा ३३ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको त्रिवि १९.१ ओभरमा १०३ रनमा अलआउट भयो । त्रिविका लागि ओपनर लोकेश बमले १२ बलमा १७ रन जोडे भने भीम सार्कीले १८ रन र साइमन रायाले २० रनको योगदान गरे ।
बलिङमा ढाकाका मुजिबुर रहमान, इफ्ताखर र महाफैजुल इस्लामले समान २-२ विकेट लिए ।
प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागीता रहेको छ ।
समूह ‘ए’ मा त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन् ।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन् ।
नौं दिनसम्म चल्ने प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गर्न लागिएको संघले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रूपैयाँ पाउनेछ भने उपविजेताले १० लाख रूपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीहरूका लागि थप ५ लाख रूपैयाँ छुट्याइएको छ, जसअनुसार कुल पुरस्कार राशी ३० लाख रूपैयाँ रहेको छ ।
