प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले सोमबार सृजना पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
गत वर्ष खेलेको टिमबाट गण्डकीको टिममा धेरै परिवर्तन भएको छ । गत वर्ष कप्तानी गरेकी कुसुम गोदारसहित ज्योत्सिनका मरासिनी, सिमाना केसी र रचना कुमार चौधरी आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेल्न हाल मलेसियामा छन् ।
यस्तै टोलीका अन्य सदस्य सुमन खतिवडा, शिला क्षेत्री, सृष्टी पौडेल लगायत खेलाडी यस पटक टिममा छैनन् भने अन्जली विक पनि त्रिभुवन आर्मी क्लबमा पुगेकी छन् । त्यसैले टिममा नयाँ खेलाडी धेरै छन् । नियमित खेलेका खेलाडीहरु नहुँदा टिममा नयाँ र युवा खेलाडी समावेश छन् ।
प्रतियोगिता माघ १ देखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । गण्डकी प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमै घरेलु टोली सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
गण्डकीको टोली :
श्रीजना पौडेल (कप्तान), श्रेया शाह, धनकुमारी क्षेत्री, मनीका लामिछाने, सलिना सेन, रेखा तामाङ, अपेक्ष्या बुढाथोकी, निरु जि.टी.,चन्द्रमाया बराल, आकृति तिवारी, यशोदा भुजेल, श्रेया शर्मा, जेनीसा खत्री, रिया तामाङ
