लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार लुम्बिनीले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १२७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा ५५ रनमै अलआउट भयो । कर्णालीका लागि रामा बुढाथोकीले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि सरस्वती पुनले चार विकेट लिँदा मनिषा राना, अशना चौधरी र मधु डिसीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२६ रन बनाएको थियो । लुम्बिनीका लागि रञ्जु श्रेष्ठले ५९ बलमा दुई चौकाको मद्दतले अविजित ५१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीका लागि अञ्जु गुरुङले तीन, रामा बुढाथोकीले दुई तथा दिक्षा पुरी र रश्मी खड्काले समान एक विकेट लिए ।
लुम्बिनीले खेलजिते पनि प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कर्णाली पनि प्रतियोगिताबाट बाहिरिएको छ । लुम्बिनीले चार खेलबाट पाँच अंक जोड्दा कर्णालीको चार खेलबाट एक अंक छ ।
समूह ‘ए’ बाट शीर्ष स्थानमा रहेको नेपाल एपिएफ क्लब र दोश्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेश सुपर फोरमा प्रवेश गर्दा लुम्बिनी, कर्णाली र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।
शनिबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ५९ रनले पराजित गर्यो । योसँगै समूह ‘ए’ का खेल सकिएका छन् । आइतवारबाट समूह ‘बी’ का खेलहरु सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह ‘बी’ मा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब छन् ।
दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
