पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३-२ को सेटमा पराजित भयो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनु पर्यो ।

पुलिसले पहिलो सेट २५-२२ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५-१९ र चौथो सेट २५-१४ ले जितेको थियो ।

पाँचौं सेटमा गण्डकीले शुरुवाती अग्रता जोगाउन नसक्दा खेल १५-१० ले गुमाउनु पर्यो ।

अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र एपीएफबीच हुनेछ । यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३-१ को सेटले पराजित गरेको थियो ।

यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *