२४ पटकका ग्रान्डस्लाम विजेता सर्बियाका नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन २०२५ को सेमिफाइनलमा स्थान बनाएका छन् ।

मेलबर्नको रोड लेभर एरिनामा भएको क्वार्टरफाइनल खेलमा उनले तेस्रो वरियताका स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई चार सेटसम्म चलेको रोमाञ्चक खेलमा पराजित गरे ।

३७ वर्षीय जोकोभिचले यसअघि पेरिस ओलम्पिकको गोल्ड मेडल खेलमा पनि अल्कारेजलाई नै हराएका थिए । क्वार्टरफाइनल खेलमा अल्कारेजले पहिलो सेट ६-४ को अन्तरले जिते । तर, अनुभवी जोकोभिचले दोस्रो सेटमा ६-४ ले पुनरागमन गरे । उनले आफ्नो लय कायम राख्दै अन्तिम दुई सेट ६-३ र ६-४ ले जित्दै खेल आफ्नो पक्षमा पारे ।

जोकोभिच अब जनवरी २४ मा जर्मनीका एलेक्जेन्डर ज्वेरेभसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो वरियताका जर्मनीका एलेक्जेन्डर ज्वेरेभले अमेरिकाका टोमी पाउललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । ज्वेरेभले सुरुवाती दुई सेट ७-६, ७-६ को कठिन संघर्षपछि जिते । पाउलले तेस्रो सेट ६-२ ले जित्दै खेलमा फर्कने प्रयास गरे । तर, ज्वेरेभले चौथो सेट ६-१ को अन्तरले जित्दै खेल आफ्नो पक्षमा पारे । यो ज्वेरेभको करियरको तेस्रो अष्ट्रेलियन ओपन सेमिफाइनल हो ।

नोभाक जोकोभिचको करियरमा हालसम्म २४ ग्रान्डस्लाम उपाधि छन् । यसमा १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन, ४ पटक युएस ओपन र ३ पटक फ्रेन्च ओपनको उपाधि सामेल छ ।

जोकोभिच टेनिसको ‘गोल्डेन स्लाम’ जित्ने १३ औं खेलाडी हुन् । गोल्डेन स्लाम भन्नाले ओलम्पिकमा गोल्ड मेडलसहित चारै ग्रान्डस्लाम जित्नेलाई जनाउँछ ।

२१ वर्षीय कार्लोस अल्कारेजले हालसम्म चार ग्रान्डस्लाम जितेका छन् । तर, उनी अझै अष्ट्रेलियन ओपन जित्न सकेका छैनन् । क्वार्टरफाइनलमा पराजित भएपछि उनले दर्शकहरूको अभिवादन स्वीकार गरे । अल्काराजले गत वर्ष विम्बलडन जित्न जोकोभिचलाई नै हराएका थिए ।

टेनिसमा ४ मुख्य ग्रान्डस्लाम प्रतियोगिता छन्, जुन हरेक वर्ष आयोजना हुन्छ । जनवरीमा अष्ट्रेलियन ओपनबाट वर्षको सुरुवात हुन्छ । मेमा फ्रेन्च ओपन, जुलाईमा विम्बलडन र सेप्टेम्बरमा युएस ओपन खेलिन्छ । यीमध्ये सबैभन्दा पुरानो ग्रान्डस्लाम विम्बलडन हो, जसको सुरुवात १८७७ मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *