काठमाडौं । अपराजित रहँदै जनकपुर नाइट्स नेपाल कबड्डी लिगको उपाधिनजिक पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पहिलो क्वालिफायरमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ३४-३२ ले हराएको हो ।
योसँगै विराटनगरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायर खेल्ने छ । उसले इलिमिनेटरको विजेतासँग खेल्ने भएको हो । इलिमिनेटरमा काठमान्डु माभरिक्स र हिमालयन रेइडर्स भिड्दैछन् ।
जनकपुरले खेलभर रेडमा १५, ट्याकलमा १३, दुई अलआउटमा चार र बोनसमा दुई अंक जोड्यो । विराटनगरले भने रेडमा आठ, ट्याकलमा १०, एक अलआउटमा दुई र बोनसमा १२ अंक जोड्यो ।
पहिलो हाफमै जनकपुरले ११ अंकको अग्रता लिएको थियो । जनकपुर बोनसबाहेक अन्य सबै पक्षमा अब्बल रह्यो । रेडमा ११, ट्याकलमा ६ र दुई अलआउटमा चार अंक जोडेको थियो। बोनसमा भने दुई अंक मात्रै थप्न सक्यो । विराटनगर भने रेड र ट्याकलमा समान तीन अंक जोड्यो । यद्यपि, बोनसमा भने ६ अंक बटुल्दै खेल २३-१२ मा सक्काएको थियो ।
दोस्रो हाफमा भने विराटनगरले उत्कृष्ट पुनरागमन गरेको थियो । तर, अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जनकपुर खेलमा फर्कियो । उसले चार ट्याकल र एक रेडमा तीन अंक थप्दै खेल ३३-३० मा पुऱ्यायो ।
जनकपुरले दोस्रो हाफमा कुल ११ अंक जोड्यो । विराटनगरले त्योभन्दा नौ अंक बढी ल्याए पनि जित हात पार्न सकेन । जनकपुरले यो हाफमा रेडबाट तीन, ट्याकलबाट सात र बोनसबाट एक अंक हात पारेको थियो । विराटनगरले भने रेडमा पाँच, ट्याकलमा सात, एक अलआउटमा दुई र बोनसमा ६ अंक बटुल्यो ।
