एन्फा महिला लिगको अन्तिम चरणमा बिहिबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको हो ।
आर्मीको जितमा आत्मघाती उपहार स्वरुप प्राप्त भएको गोल नै निर्णायक बन्यो । इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेबाट आत्मघाती गोल हुन पुगेको हो । उषाले पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेको बल रिबाउन्डमा आउँदा समिक्षा घिमिरेको प्रहार आफ्नै पोष्टमा गोल भएको थियो ।
आर्मी र पुलिसले यसअघि दुवै भेटमा बराबरी खेलेका थिए । यी दुई टोलीले दोस्रो चरणमा १-१ र अन्तिम चरणको पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । यद्दपी पछिल्लो खेल विवादका कारण केहि समय रोकिएको थियो ।
जितसँगै ६ खेलबाट १३ अंक जोडेको आर्मी दोश्रो स्थानमा रहेको छ । पराजित पुलिस समान खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ । एपिएएफ ६ खेलमा १५ अंंकसहित शीर्ष स्थानमा छ । शीर्ष तीन टोलीले प्ले अफमा ठाउँ सुरक्षित गरिसकेका छन् ।
प्ले अफ पुग्ने चौथो टोलीका लागि बागमती युथ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा छ । बागमतीको ६ खेलमा बागमतीको ३ अंक छ । वालिङले अहिले सम्म अंकको खाता खोलेको छैन ।
