बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिसले लगतार दोस्रो जित हात पारेको छ ।

शनिबार बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

पुलिसले खेल २५-१५, २०-२५, २५-२० र २५-१८ ले आफ्नो पक्ष्मा पार्यो ।

शनिबारको दोस्रो खेल गुजरात स्टेट भलिबल र एपीएफबीच र तेस्रो खेल त्रिभुवन आर्मी क्लब र गल्कोट भलिबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

समूह ‘ए’ मा रहेका चार टिम मध्ये नेपाल पुलिसले २, मणि मुकुन्द र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले समान १-१ खेल जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मणिमुकुन्दले समान १-१ हार बेहोरेका छन् ।

त्यस्तै समूह ‘बी’ मा रहेका नेपाल आर्मी क्लब र एपीएफले १-१ खेल जितेका छन् भने गुजरात स्टेट क्लब भारत र गल्कोट भलिबल क्लबले १-१ हार व्यहोरेका छन् ।

पुस २४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागीता छ ।

प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *