बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब, भारतको गुजरात भलिबल एसोसिएसन र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

शनिबार बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा भएको दोस्रो खेलमा गुजरातले नेपाल एपिएफ क्लबलाई ३-१ सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

एपिएफले पहिलो सेट २५-२१ ले जिते पनि लगातार तीन सेटमा हार बेहोर्दै खेल गुमाउन पुग्यो । एपिएफले १८-२५, १५-२५ र १८-२५ ले लगातार तीन सेट गुमाएको थियो ।

शनिवार भएको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले गलकोट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै लगातर दोस्रो जित हासिल गर्यो । आर्मीले खेल २५-२१, २५-२३ र २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

यसाघि शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ ले पराजित गरेको थियो । पुलिसको यो लगातार दोस्रो जित हो ।

पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।

समूह ‘ए’ मा रहेका चार टिम मध्ये पुलिसले २, मणि मुकुन्द र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले समान १-१ खेल जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मणिमुकुन्दले समान १-१ हार बेहोरेका छन् ।

त्यस्तै समूह ‘बी’ मा रहेका आर्मीले २, एपीएफ र गुजरातले १-१ खेल जितेका छन् । गल्कोटले दुबै खेल गुमाएको छ । एपिएफ र गुजरातले समान १-१ हार बेहोरेका छन् ।

प्रतियोगिताको विजेताले ७ लाख ५ हजार, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो-नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *