ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्यो ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रन जोडेर अल आउट भयो । लुम्बिनीका लागि सरस्वती पुनले सार्वधिक १४ बनाइन् । कप्तान सरस्वती जिएमले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि रेवाती धामीले ३, आशिका महराले २ तथा कविता कुँवर, करिश्मा थापा, ऋतु कनौजिया र जानकी थापाले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२७ रनको योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि कविता कुँवरले ३३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ५५ रनको जोडिन् । ओपनर मनिषा बोहराले २३ र ऋतु कनौजियाले अविजित १८ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डिसीले समान १ विकेट लिए ।
जितसँगै सुदूरपश्चिमले दुई खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । लुम्बिनीले भने हारबाट प्रपितयोगिताको सुरुआत गरेको छ ।
बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।
