विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै साविक बिजेता एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । 

गण्डकीले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याएको एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि कप्तान इन्दु बर्मा २६ र रोमा थापा १४ रनमा अविजित रहे । यस्तै, ममता चौधरीले १८ र राजमति ऐरीले ८ रनको योगदान दिए । 

बलिङतर्फ गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा ७० रनको योगफल तयार पारेको थियो । बाक्लो हुस्सुका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो ।

गण्डकीका लागि कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन् । यस्तै, रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन जोड्दा निरुता जीटी ५ रनमा अविजित रहिन् । गण्डकीका मनिका लामिछाने र आकृति तिवारी भने शून्य रनमै पभिलियन फर्किएका थिए ।  

बलिङतर्फ एपिएफका लागि विन्दु बुढाले दुई र करुणा भण्डारीले एक-एक विकेट लिए । 

जितसँगै एपिएफले दुई खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो । गण्डकीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *