सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न उद्घाटन खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराउँदै सुदूरपश्चिमले बिजयी सुरुआत गरेको हो ।
गण्डकीले दिएको ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि ओपनर रेवती धामीले २७ बलमा २ चौका सहित अविजित २१ रन बनाइन् ।
यस्तै, मनिषा बोहरा ९, कप्तान विन्दु रावल ६ र कविता कुँवर आठ रनमा आउट हुँदा सोभा रोकायाले अविजित चार रन बनाइन् ।
बलिङतर्फ गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन बनाएको थियो । बाक्लो हुस्सुका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो ।
गण्डकीका लागि रेखा तामाङले सार्वधिक १३ रन बनाइन् । कप्तान सिर्जना पौडेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि रेवती धामीले सार्वधिक चार विकेट लिइन् । ऋतु कनौजिया र जानकी थापाको नाममा समान एक विकेट रह्यो ।
